You are viewing the translated version of रोजगारीबाट भएको आयको गणना.

Section 8
रोजगारीबाट भएको आयको गणना
(१) कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ ।

(२) रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरु त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछ:-

(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरे बापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु बापतको भुक्तानी,

(ख) महँगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,

(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछुयौंट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,

(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाए बापत गरिएका भुक्तानी,

(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,

(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,

(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र

(ज) परिच्छेद-६ वा ७ बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरु समावेश गर्नुपर्ने छैनः-

(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी,

(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,

(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्यौंट वा सोधभर्नाः-

(१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा

(२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च ।

(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिक रुपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “भुक्तानी” भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्झनु पर्छ:-

(क) रोजगारदाताबाट भएको,

(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र

(ग) रोजगारदाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।